काठमाडौँ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई बिदाइ गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार उनलाई एक कार्यक्रमकाबीच बिदाई गरेको हो।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लागेका एआईजी ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए। अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले अतुलनीय योगदान गरेको भन्दै कुँवरले चर्चा गरे।
सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। ज्ञवालीले बिदाइ कार्यक्रममा आफ्नो सेवा अवधिका अनुभव सुनाएका थिए।





