पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कसैले उचालेकै भरमा आन्दोलन नगर्न सहकारीपीडितलाई आग्रह गरेका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आउने क्रममा उनलाई सहकारीपीडितले कालो झण्डा देखाएपछि उनले प्रतिक्रिया जनाएका हुन् ।
बैठकस्थल पोखराको विरौटास्थित ग्यालेक्सी बैंक्वेट प्रवेश गर्ने क्रममा मंगलबार सूर्यदर्शन सहकारीपीडितले नाराबाजी गर्दै उनलाई कालो झण्डा देखाएका थिए । बैठकलाई सम्बोधन गर्दै उनले सूर्यदर्शन सहकारी ठगीमा कसैले उचालिदिएका भरमा पीडित उचालिएको टिप्पणी गरेका हुन् ।
‘सहकारी पीडितका लागि लड्नु भएको भए मेरो साथ छ । सलाम छ । तपाईहरूले गल्ती गर्नु भएको छ । जो मानिसले गल्ती गरेको छैन, जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई दोषीझैं गरी कसैले उक्साएको भरमा तपाईले जुन विरोध गरिरहनु भएको छ, तपाईंले विरोध नगरी दिनु भएको भए तपाईको न्यायका लागि लड्ने मान्छेको अग्रपंक्तिमा रवि लामिछाने हुने थियो ।’
उनले सहकारीपीडितले गलत मान्छेलाई ‘टार्गेट’ गरेर अपराध गरेको समेत बताए । ‘कस्तो संघर्ष समिति हो ? अपराध गर्दै हुनुहुन्छ साथीहरू । संघर्ष समितिको नाममा अपराध !’, उनले थपे, ‘लाखौं सहकारीपीडितमाथि अन्याय गर्दै हुनुहुन्छ । तपाईंले गलत मान्छेलाई टार्गेट गरेर ।’ उनले आफू अझै पनि पीडितका पक्षमा लड्न तयार रहेको भन्दै आँखा खोल्न पीडितलाई आग्रह गरे ।
‘म अझै भन्न चाहन्छु, साथी हो । कहाँ जाने लड्न ? म अझै पनि तयार छु,’ उनले भने, ‘तपाईका अनेक मुर्दावाद, जिन्दावाद, कालो झण्डाबीच पनि म कालो मन होइन, सफा मन लिएर तपाईको आन्दोलनमा अग्रपंक्तिमा लड्न चाहन्छु, आँखा खोल्नुस् ।’ आफूविरूद्ध प्रमाण ल्याए बैठकस्थलबाटै राजनीति त्याग्न तयार रहेको समेत उनले बताएका थिए । उनले भने, ‘अग्रपंक्तिमा कहाँ जिन्दावाद, कहाँ मुर्दावाद म भन्न तयार छु । खोयाबाट सुरू भएको यो काण्ड खोयामै टुंगिन्छ ।’ गत पुस ७ गते पोखराको अमरसिंह चौरमा भएको रास्वपाको सभामा उनीमाथि खोया प्रहार गरिएको थियो ।





