उपसभामुख रानालाई हटाउने सत्ता गठबन्धनको तयारी

२०८१ भाद्र २६, बुधबार

काठमाडौँ : अमेरिकी भिसा प्रकरणमा मुछिएकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदअनुकूल आचरण नगरेको आरोपमा प्रतिनिधिसभाको दुई तिहाइले हटाउन लागिएको छ।

उपसभामुख रानाले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ।

पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित भए उपसभामुख राना पदमुक्त हुनेछिन्। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको एक चौथाइ सदस्यले उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गराउन मिल्ने भए पनि दुई तिहाइ अर्थात् एक सय ८४ सांसदको हस्ताक्षरसहित दर्ता गर्ने गृहकार्य भएको स्रोतले बतायो।

प्रतिनिधिसभामा कांग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका सात, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका पाँच, नाउपाका चार, लोसपाका चार गरी १९२ सांसदले उपसभामुखलाई हटाउनुपर्ने प्रस्तावमा हस्ताक्षर गर्ने स्रोतको दाबी छ। प्रस्तावको पक्षमा राप्रपालाई पनि ल्याउने गृहकार्य भइरहेको बताइएको छ।

प्रस्ताव दर्ता नगराउँदै उसभामुखले राजीनामा दिए नयाँ उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ। दलहरूले मंगलबार आन्तरिक रूपमा उपसभामुखविरुद्ध हस्ताक्षर संकलन गरिरहेको स्रोतले बतायो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार