काठमाडौं : चर्चित बलिउड निर्देशक राजकुमार हिरानी फिल्म ‘शाम्बाला’ हेर्न नेपाल आउने भएका छन्। उनी असोज दोस्रो साता काठमाडौं आउने भएका हुन्। फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने समेत योजनासहित उनी नेपाल आउन लागेको निर्देशक मीनबहादुर भामले जानकारी दिए।
उनका अनुसार राजकुमारसँग सन २०१६ ताका पहिलोपटक बुसान फिल्म फेस्टिभलमा भेट भएको थियो। त्यसपछि पनि विभिन्न फेस्टिभलमा भेट भइरहेको भामले बताए।
‘उहाँले शाम्बालाको स्क्रिप्टमा पनि चासो देखाउनुभएको थियो। बर्लिनमै फिल्म हेर्न खोज्नुभएको थियो, तर त्यहाँ मिलेन,’ उनले भने, ‘ठूलो पर्दामा फिल्म हेर्ने इच्छा राखेरै आउन लाग्नुभएको हो।’
राजकुमार हिरानीले निर्देशन गरेका ‘पिके, थ्री इडियट्स, सन्जु, डंकी, मुन्नाभाइ एम बी बी एस’ लगायतका थुप्रै फिल्म हिट छन्। बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपले नेपाल आएर प्रिमियरमा ‘शाम्बाला’ हेरिसकेका छन्। फिल्म शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको छ।





