ठगी शैली : कम तौलको गहना, बढी तौलको बिल

२०८१ भाद्र २९, शनिबार

ललितपुर : ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा जाहेरी लिएर गत साता एक पीडित आइन् । जाहेरीमा सुनको तौल कम तर नक्कली बिल बनाएर बढी मूूल्यमा बन्धकी राखेर ठगी गरेको उल्लेख थियो । पीडकहरू महिला भएको र उनीहरूको ज्वेलर्स भने भक्तपुर नगरपालिका– २, ब्यासी भएको जाहेरीमा उल्लेख थियो ।

त्यसपछि प्रहरी वृत्त सातदोबाटोले जिल्ला प्रहरी परिसर भक्तपुरसँग समन्वय गर्‍यो । अन्ततः भक्तपुर प्रहरीले ब्यासीबाट तीन जना महिलालाई पक्राउ परेको छ । परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार ठगी आरोपीहरू ५५ वर्षीया मनमाया थापा, ५४ वर्षीया चन्द्रकला विश्वकर्मा र ४० वर्षीया राधा विश्वकर्मा पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये मनमाया सप्तरीको कञ्चनपुर घर भई ललितपुरको महालक्ष्मी–४, अल्पाइन टोल बस्दै आएकी छिन् । सप्तरीको सप्तकोशी नगरपालिका–२ घर भएकी राधा पनि सोही ठाउँ बस्छिन् । उदयपुरको आमबासी घर भएकी चन्द्रकला ललितपुरकै इमाडोलमा बस्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले तिलहरी ४ थान, चुरा २ थान, बाला १ थान, नाकको फुली र पेच १५ दशमलव ८० ग्राम, हरियो र पहेंलो रंगको पोते ३०÷३० थान, ज्वेलर्सको १५ थान बिल, बन्दकी राख्दा लिने÷दिने चिट ३० थान, नगद ३ लाख ४२ हजार ५०० रुपैयँ बरामद गरेको छ ।

बरामद गरिएको नगद र सुनका गरगहनासहित आरोपी तीनै जना महिलालाई भक्तपुर प्रहरीले जाहेरी परेको प्रहरी वृत्त सातदोबाटो पठाएको डीएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार