काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गलत देखाउन कलात्मक ढंगले बेइमानी भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
दूध किसानको समस्याबारे बोल्दै प्रधानमन्त्री ओलीले झुठ बोल्नै शैली नै नयाँ बनाइएको दाबी गरे। ‘अस्ति मैले एक ठाउँमा भनेपनि किसानहरूले दूध बेचेको दुग्ध विकास संस्थानलाई दूध बेचेको पैसा पाएका छैनन्। किसान मर्कामा छन्। मन्त्रीपरिषद्ले ६० करोड रुपैयाँ दूग्ध संस्थानलाई सापटी दिने, ऋण दिने भन्यो,’ उनले भने, ‘भोली पल्ट एउटा प्रतिष्ठित अखबारमा आयो, किसानलाई दूधको बक्यौता तिर्ने बहानामा हामी किसानलाई पैसा दिँदैछौ। होइन कस्तो कलात्मक ढंगले बेइमानीको खेती कसरी हुनसक्दो रहेछ भने नि।’
एक छिन पढेपछि आफू घोत्लिएको उनले बताए। ‘म ५/७ मिनेट जति घोत्लिए, क्या गजबको झुठको पनि कति परिमार्जित शैली। दिनुछ किसानलाई दुधको बाँकी रहेको पैसा। त्यसमा बहानामा हुन्छ ? त्यो पैसा तिर्न जसलाई दिइयो। त्यसलाई ऋण बोकाइयो भन्छ। ऋण लगाएको उसले, त्यो तिर्दे भनेपनि ऋण बोकाइयो भन्छ’, प्रधानमन्त्री ओलीले भने।
टाउको टेकेरे हेरिदिएपछि सब उल्टो देखिने प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘अनि टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिन्छ। अब अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भइरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँडिराखेका छन्।’





