काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भारतको नयाँ दिल्लीमा छन्। उनी शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली गएका हुन्।
भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन उनी नयाँ दिल्ली गएको पार्टीका एक पदाधिकारीले जानकारी दिए। ‘शुक्रबार बेलुकी नै जानुभएको हो,’ ती पदाधिकारीले भने, ‘अन्तिम संस्कारमा सहभागी भएर एक दुई दिनभित्रै फर्कने कुरा छ।’ पूर्वप्रधानमन्त्री नेपालको अन्य भेटघाटका कार्यक्रम भने तय नभएको ती पदाधिकारीले बताए।
दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका यचुरीको बिहीबार निधन भएको थियो। उनको शरिर अन्तिम संस्कारका लागि पार्टी मुख्यालयमा राखिएको छ।





