प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँड्न थाले : कांग्रेस सांसद श्रेष्ठ

२०८१ भाद्र ३०, आईतवार

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले सय दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेका छन्।

प्रजातान्त्रिक मुुलुकहरूमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाइ थियो। आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिने बित्तिबै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए।

‘हिजोसम्म सत्तामा छौँ। हिजोसम्म सरकारमा छौँ। सरकारबाट निस्कन पाएको छैन–बंगलादेश र श्रीलंका भन्छौँ। अनि त्यसको हिजोसम्मको दोषको भागी लिने न नलिने? यस्ता अभिव्यक्तिहरूले नेपाली जनतामा भ्रम सृजना गर्छ। त्यो भ्रम सृजना गर्ने काम हामी नगरौँ,’ उनले भने।

दाहालले मुलुक वंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न पनि चेतावनी पनि दिए।

‘प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो। स्वच्छन्दता होइन। जे मन लाग्यो, त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन। त्यसमा विषयमा पनि हामी सबै पक्ष जिम्मेवार हुनपर्छ भन्ने मलाई लाग्छ। त्यस्तै अहिले गठबन्धनको सरकार बनेको सय दिन पनि पुगेको छैन,’ उनले भने, ‘सय दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरु सृजना गर्न थालिएको छ। यो प्रजातन्त्रका लागि राम्रो सन्देश पनि होइन। त्यो तर्फ पनि हामीे ध्यान दिउँ भन्ने मलाई लाग्छ।’ सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार