वीरेन्द्रनगर : अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तहरूले अस्पतालमै प्रर्दशन गरेका छन्। प्रदेश अस्पताल सुर्खेतमा १८ वर्षीया शर्मिला सुनारको सुत्केरीपछि मृत्युको विषयलाई लिएर सुरु भएको आन्दोलन अझै जारी छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ की सुनारको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तहरू सोमबार बिहानदेखि आन्दोलित छन्।
आफन्तहरूले अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भए पनि कुनै निष्कर्ष नआएपछि आन्दोलन थप चर्किएको छ।
अस्पताल प्रशासनले समस्या समाधान गर्न नसकेपछि पीडितले अस्पताल परिसरमै धर्ना दिएका छन्। सोमबार दिनभर प्रहरी र आन्दोलनकारीबीच पटक-पटक आमनेसामने स्थिति भएको थियो।
आन्दोलनका क्रममा पीडितहरूले अस्पताल परिसरमा रहेका गमलाहरू फुटाइदिएका छन्। जस कारण अस्पताल क्षेत्र कुरूप बनेको छ। ढुंगामुढा गर्न थालेपछि प्रहरीले संयमित भएर स्थिति नियन्त्रणमा लिएको थियो। जसले अस्पतालमा थप क्षति हुनबाट जोगाएको छ।
सुर्खेत प्रहरीका अनुसार, सुत्केरीका आफन्तबाट अप्रिय घटना नहोस् भनेर सोमबार बिहान ४ बजेदेखि डिएसपीको नेतृत्वमा एक सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ।





