जिबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता

२०८१ आश्विन ८, मंगलवार

चितवन : चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका छौँ, उनले भने।

जिल्ला प्रहरी कार्यालयमा एक वर्षअघि पीडितले रकम हिनामिना गरेको आरोपमा १४ जना विरुद्ध उजुरी दिएका थिए। त्यसपछि चितवन अदालतले असोज ९ गते प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले अनुसन्धानका क्रममा देखिएका थप ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको लुईटेलले जानकारी दिए।

सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार