काठमाडौँ : ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङभित्र कार्यरत ५ जना बेपत्ता भएका छन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाली सेनाको गरुडदल गणलाई पत्र लेख्दै उद्धार गरिदिन आग्रह गरेको हो । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ५ जनाको अवस्था अज्ञात रहेको भन्दै हेलिकप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको छ ।
नेपाली सेनाको गरुडदल गणका २ जना, कम्पनीका २ जना र एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको भन्दै तत्काल हेलिकप्टर तथा अन्य उपायबाट उद्धार गर्न कम्पनीले आग्रह गरेको हो ।
उद्धार कार्यमा प्रयोग हुने हेलिकप्टरको सम्पुर्ण खर्च समेत कम्पनीले व्यहोर्ने केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले बताए । अविरल वर्षाका कारण आएको पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।





