काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको बताए। उनले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको बताए।
उनले भने, ‘सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको छ। प्राकृतिक प्रकोप र सरकारको भोलुमको बीचमा ग्याप त हुँदो नै रहेछ। हालैमात्र अमेरिकाको फ्लोरिडामा आँधीबाट आक्रान्त छ। सुविधा सम्पन्न देशमा पनि केही कमजोरी छन्। तर हामीले सरकारले इमान्दारीपूर्वक काम गरेको छ की छैन भनेर हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरु सबै खट्नुभएको छ।’
उनले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरुमा सजगताको कमी देखिएको दाबी पनि गरे।
उनले भने, ‘मौसव विज्ञहरुले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो। त्यसलाई मध्यनजर गरेर सरकारले सूचना पनि शतर्क रहन दिएको हो। कति कुरामा नागरिकहरुको सजगतामा कमी पनि भयो। सरकार अझ बढी प्रभावकारी बनोस्। १० हजार परिवारले घरवास गुमाउनुभएको छ। उहाँहरुलाई छिटो भन्दा छिटो पुनःवासको जरुरी छ। त्यसपछि पुनःनिर्माणको काम आउँछ।’
उनले सरकारले अझ बढी सक्रिय भइ विपद् प्रभावितहरुको पुनःवास र पुनर्निर्माणका लागि प्रभाकारी ढंगले काम गर्नुपर्ने बताए।





