सुर्खेत : मुख्यमन्त्री यामलाल कँडेलले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण अपराधका नयाँ शैलीविरूद्ध प्रहरी तयारी अवस्थामा रहनुपर्ने चुनौती थपिएको बताएका छन् ।
६९ औं प्रहरी दिवसका अवसरमा बुधबार प्रदेश प्रहरी कार्यालयमा आयोजित सभारोहलाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्न अझ सक्षम बन्न जरुरी रहेको बताएका हुन् ।
बदलिँदो आपराधिक परिवेश, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश एवं अनुशासनहीनतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्नो सेवा प्रवाहमा सोही अनुरूप विकास र परिवर्तन गर्दै गएको मैले महशुस गरेको छु’, उनले भने, शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण लगायत मुलुकमा देखापरेका विषम परिस्थितिलाई निस्तेज तुल्याउन प्रहरी कर्मचारीहरुले निर्वाह गरेको भूमिकाको प्रंसशनीय छ ।’
आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी उच्च मनोबलका साथ देश र जनताको सुरक्षामा तैनाथ हुनु सबैको लागि प्रेरणाको स्रोतका रुपमा रहेको बताएका हुन् । ‘अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती हाम्रो पुँजी हो,’ उनले भने, ‘सीमित स्रोत साधनका बावजुद यो पूँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रहरीले देखाएको कार्यकुशलता प्रंसशनीय छ ।’
साथै उनले राष्ट्र र जनताको हितमा केन्द्रित भई कुनै पनि आपराधिक कर्मप्रति कुनै आग्रह पूर्वाग्रह र मोलाहिजा नगरी शून्य सहनशीलताको नीति अनुरूप कानूनको दायरामा ल्याउने गरि कार्यसम्पादन गर्ने तर्फ अग्रसर हुन प्रहरी कर्मचारीलाई सुझाव दिए ।
मुख्यमन्त्री कँडेलले प्रहरी प्रदेश सरकार मातहत आइनसके पनि प्रहरी युनिटहरुले शान्ति सुरक्षा, विपद् न्यूनीकरण लगायतका विषयमा प्रदेश सरकारसँग समन्वयात्मक ढंगले काम गरिरहेकोमा धन्यवाद व्यक्त गरे । प्रहरी दिवसमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले अपराध नियन्त्रण र कानुनले निर्दिष्ट गरेको जिम्मेवारी कार्यान्वयनमा प्रहरीको भूमिका अब्बल रहेको धारणा राखे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रहरी आम नागरिकको आशा र भरोसाको संगठन भएकाले नागरिक प्रहरी साझेदारी अझ बलियो बन्नुपर्ने विचार व्यक्त गरिन् । प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले सीमित स्रोत साधनका बाबजुद प्रहरी कर्मचारीले शान्ति सुरक्षा, अमनचयन कायम गर्न र अपराध नियन्त्रणमा अझैं ख्याति कमाउने विश्वास प्रकट गरे ।
प्रहरी दिवसका अवसरमा उत्कृष्ट कार्य सम्पादन गरेबापत प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी उपरीक्षक नेत्रमणी गिरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का, प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक बिक्रमबहादुर वली र प्रदेश प्रहरी तालिम केन्द्रका हवल्दार प्रहरी सहायक हवल्दार तारादेवी घर्तीलाई पुस्स्कृत गरिएको थियो ।





