काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता दुर्व्यसनी भएको आरोप लगाएका छन् ।
मान्छेहरुले प्रचण्डलाई राहु, केतु र शनी भन्ने गरेपनि सत्ताविमुख हुँदा बखतको प्रचण्डको छटपटाहटलाई हेर्दा उनी सत्ता दुर्व्यसनी भएको बस्नेतले बताएका हुन् । ‘जनता समाजवादी पार्टी, नेपाललाई फुटाउँदा पनि सत्ता टिकाउँने प्रयास सफल नभएपछि प्रचण्डको सत्ता तड्पन झन बढेको छ,’ बस्नेतले भने । सत्ताबाट विमुख हुँदाको छटपटाहटलाई माओवादीले खबरदारी सभाको नाम दिएको समेत बस्नेतले आरोप लगाए ।
बस्नेतले भने, ‘माओवादी केन्द्र अहिले मुकुण्डो उतार्दा जनताले थुक्ने र मुकुण्डो लगाउँदा कुकुर भुक्ने अवस्थामा छ,’ । सत्ताको लागि भ्रष्ट र ठगलाई लम्सार परेर ढोग्न र मरेको सिनोलाई काँधमा बोक्न पनि पछि नपर्ने चरित्रका कारण माओवादी केन्द्र मुलुकमा डुङडुङ गन्हाइरहेको समेत उनको दाबी छ ।





