सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइनेछ : गृहमन्त्री

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा मन्त्री लेखकले सुरक्षा चुनौती सामना गर्न प्रविधिसहितको प्रहरीको आवश्यकता रहेको बताएका हुन् ।

सशस्त्र प्रहरीले राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिस्थितिमा व्यावसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको मन्त्री लेखकको भनाइ थियो ।

सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको पनि मन्त्री लेखकको भनाइ थियो । ‘७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसंस्कृत गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ,’ मन्त्री लेखकले भने, ‘नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट कुनै कमी नहुने कुरामा विश्वस्त रहन आग्रह गर्दछु ।’

मौजुदा स्रोतसाधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ विगत र वर्तमानमा जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिएका थिए । ‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरे लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ,’ उनले भने, ‘विधिको शासन र कानुनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै कानुन पालना गर्ने गराउने निकायले चनाखो एवं होसियार रहेर आफ्ना काम-कारबाही संचालन गर्नु गराउनुपर्ने अहिलेको अपरिहार्य आवश्यकतालाई मनन गर्नु होला ।’

प्रशिक्षण कार्यलाई समयानुकूल थप आधुनिक र वैज्ञानिक बनाउँदै लगिएको भन्दै यसले राज्यलाई दक्ष र व्यावहारिक अधिकृत निर्माणमा खेलेको भूमिकाको गृहमन्त्री लेखकले गरेका थिए । सशस्त्र प्रहरीभित्र एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढंगले अगाडि बढ्ने व्यवस्था गरिने उनले बताए ।

सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्ठकृत गर्दै जैलाने भन्दै आगामी संघीय संसद् अधिवेशनमा पेस गरिने मन्त्री लेखककले जानकारी दिए । ‘सशस्त्र प्रहरी बलेको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा अगाडि बढेको छौँ । यसले सशस्त्र प्रहरी बललाई थप सक्षम, सबल र व्यावसायिक बनाउने मैले विश्वास लिएको छु,’ उनले भने, ‘नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा पुगेको छ । आगामी संघीय संसद्को अधिवेशनमा पेस गरेर कानुन निर्माण गरेर जानेछौं ।’

सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्माण गरेको पनि मन्त्री लेखकले बताए । ‘सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरूले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको स्थिति छ । नेपाल सरकारले कानुनी व्यवस्था गरेर खेलाडीहरूलाई विशेष पद सिर्जना गरी नियुक्त गर्न सक्ने गरी नीति बनाउन लागेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार