खुला सीमाका कारण नेपालमा भारतबाट धेरै ड्रग्स आउँछ : खेलकुदमन्त्री चौधरी

२०८१ कार्तिक २५, आईतवार

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै लागु औषध आउने गरेको बताएका छन्। आइतबार काठमाडौंमा एक कार्यक्रममा उनले नेपाल र भारतबीचको खुला सिमानाले पनि लागु औषध आउन सहज भएको बताए।

उनले नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवा अवस्थामा लागु औषध सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताए। मन्त्री चौधरीले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानुन निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको स्पष्ट पारे। उनले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभए पनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताए।

दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको उनको भनाइ छ। उनले भने, ‘नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी त छैन। तर ड्रग्स सप्लाई भारतबाट नै धेरै हुने गर्दछ। खुला सीमाका कारण वा अन्य कुनै कारण। खुला बोर्डर छ, गोजीमा राखेर पनि ल्याउँछ, यसको कुनै शंका उपशंका छैन। त्यसलै दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न नेपाल सरकार तयार छ।’

मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै रहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार