सिलीगुडी-झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

२०८१ मंसिर १८, मंगलवार

काठमाडौं : भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। सोमबार अपराह्न उहाँहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ।

उनीहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी-झापा र अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो। साथै उनीहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए।

यसैबीच,सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएकाे मन्त्री भण्डारीले नयाँदिल्लीबाट बताए।

त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएका उनले बताए। भारतीय पक्षले नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार