काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन्।
बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमणमा ऋणको कुनै विषय नै नउठेको बताए। उनले भ्रमणपूर्व नै आफूले ऋण नलिने कुरा स्पष्ट गरिसकेको र भ्रमणका क्रममा पनि यो विषयमा कुनै छलफल नभएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले बीआरआई अन्तर्गत विभिन्न परियोजनाका विषयमा कुरा गरेका छौँ। यी परियोजनाका लागि प्राप्त हुने सबै सहयोग अनुदान हो। ऋणबारे कुनै सम्झौता भएको छैन। बारम्बार ऋणको विषय किन उठाइन्छ ? यो सरोकार राख्ने कुरा नै होइन।’
ओलीले भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे पनि कुनै छलफल नभएको उल्लेख गरे।





