वीरगञ्ज : भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् ।
यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनि महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भने , “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा छन् ।”
बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।
गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताए । “विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ”, उनले भने , “सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थिति हुने अपेक्षा राखेका छौं ।” जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।
गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ । कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताए । “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उनले भने , “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।”
दश हजारभन्दा बढी राँगाबलि
आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।





