दाङ : दाङको तुलसीपुरमा पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरपालिका–५ निवासी ५० वर्षीया लीला भुसालको मृत्यु भएको प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तीखौवा ओरालोमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते लीलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । स्कुटर चालक मृतककै छोरा २७ वर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पिकअप र स्कुटरलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।





