काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारलाई उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चौधरीले सरकारले श्रमिकहरूको हितमा कुनै निर्णय गर्न नसकेको दाबी गरे। उनले वर्तमान सरकारलाई दलाल पुँजीपतिहरुको प्रभावबाट हटाउन आफ्नो पार्टी संसद र सडक दुवैमा लड्न तयार रहेको जनाए।
चौधरीले भने, “यो सरकार दलाल पुँजीपतिहरुको लागि बनेको सरकार हो। तर हामी यसलाई श्रमिकको पक्षमा झुकाएरै छोड्छौँ। श्रमिकले आन्दोलन थाल्नुपर्छ, दबाब दिनुपर्छ। हामी संसदभित्रबाट दबाब दिन्छौँ, तपाईंहरूको समर्थनबाट हामी संसदमा आवश्यक शक्ति निर्माण गर्नेछौँ।” उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउन पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रमिक आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।
सरकारले श्रमिकहरूको समस्या सम्बोधन गर्न नसकेकोप्रति असन्तोष जनाउँदै चौधरीले श्रमिकहरूलाई आफ्नो अधिकारका लागि लड्न आह्वान गरे। उनले थपे, “सरकार कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा झुक्न दिनु हुँदैन। हाम्रो पार्टी यसका लागि सदैव तयार छ।” उनले श्रमिक आन्दोलनलाई थप प्रभावकारी बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक लाग्नुपर्ने औंल्याए।





