विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइराला अदालतमा उपस्थित भएकी छन्।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कोइराला बुधबार अदालतमा हाजिर भएको जानकारी दिए। उनका अनुसार कोइरालाको बयान पछि थुनछेक बहस सुरू हुनेछ। सहकारी ठगी प्रकरणमा मुछिएपछि उनी फरार थिइन्।
मोरङको धनपालथान-४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम मुछिएपछि अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै उनी फरार थिइन्। सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ मा सहकारीबाट राजीनामा दिएकी थिइन्। सहकारी ठगीमा श्रीमतीको नाम मुछिएपछि सभापति पोखरेलको राजीनामाको समेत विषय उठेको थियो।





