मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रूपमा अध्ययन गरी कार्यान्वयन गरिने बताए ।
प्रदेश सरकारले गठन गरेकोे सङ्खीय कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उनिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी २१ दिनभित्र अध्ययन गरी आवश्यक सुझाव लिखित रूपमा बुझाउन समेत निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले प्रतिवेदनमा औँल्याएका कानुन निर्माण, संशोधन र साझा र एकल अधिकार, मन्त्रालयको कानुन निर्माण, नियमावलीसम्बन्धी सुझाव दिनसमेत आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिए । उनिले प्रतिवेदन प्रदेश संरचनासहित सङ्खीय र स्थानीय सरकारका लागि मार्गदर्शन हुने बताए ।
मुख्यमन्त्री कार्कीले भने , “मुलुकमा राजनीतिक स्थायित्वको चरण शुरू भएकोमा खुशी छु, प्रदेशको आगामी हिउँदे अधिवेशनमा विधेयक, ऐन निर्माण, संशोधनलगायत थुप्रै विजनेश प्रदेशसभाले प्राप्त गर्ने तयारी सरकारले गरेको छ ।” उनिले प्राप्त प्रतिवेदन आगामी २१ दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रदेश सरकारले विसं २०८१ वैशाख २७ गते चुडामणि आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।





