गुल्मी : गुल्मी र प्युठान जिल्लाको सिमाना अग्लुङ्ग फेदीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। मालिका गाउँपालिका-८, सिमलटारीदेखि प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइते हुनेमा मालिका गाउँपालिका-८ का पबित्रा जिसी, सुशील खत्री, भरत सुनार, फज बहादुर खत्री,माया पाठक,कमला खत्री,पवित्रा खत्री, मुसि खत्री, सुगम बोहरा, ज्ञानी खत्री र मालिका गाउँपालिका-५ का बिप्सन जिसी घाइते भएका छन्। चालक कृष्ण बहादुर खत्रीको बायाँ कुममा चोट लागेको प्रहरीले जनाएको छ।
जीपमा सवार सबै यात्रु घाइते भएका हुन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेलाई थप उपचारका लागि पुर्कोटदह स्वास्थ्य संस्थामा लागि ल्याउने कार्य भइरहेको छ। घाइते भएका पाँच जनालाई मदाने गाउँपालिका-१ अग्लुङ्गको एम्बुलेन्स मार्फत गुल्मी अस्पताल पठाइएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए।





