काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपालीलाई १० वर्षसम्म नि:शुल्क भिसा उपलब्ध गराउने अध्यादेशमा उल्लेखित विषयमा विमत्ति जनाएका छन्।
अध्यादेशमा नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने उल्लेख रहेकोमा शर्माले त्यसप्रति असन्तुष्टि जनाएका हुन्।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका मन्त्रीसहितको बैठकमा शर्माले गैरआवासीय नागरिकता प्रदान गरेर भिसा उपलब्ध गराउने विषय अनुचित हुने धारणा राखे।
‘गैरआवासीय नेपालीले नागरिकताका लागि संविधानले व्यवस्था गरेको एउटा प्रकार अनुसारको नागरिकता लिने हुन्। नागरिकता प्राप्त गर्नेलाई किन भिसा दिनुपर्ने ? गैर आवासीय नागरिकता प्राप्त गरेको व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिमीलाई निःशुल्क भिसा छ भन्न मिल्दैन,’ उनले भने।





