काठमाडौँ : एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता एक साताको अवधिमा सो मूल्य वृद्धि भएको हो ।
पुस २६ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । तर, पुस ४ गते अर्थात यो साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको हो । महासंघले शनिबारको लागि भने मूल्य कायम गर्ने गरेको छैन । पुस २८ गते सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ थियो । त्यसको भोलिपल्ट सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भयो ।
माघ १ गते घटेर तोलामा १ लाख ५५ हजार रुपैयाँ कायम हुँदा २ गते १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भयो भने ३ गते १ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको महासंघको भनाइ छ । यस्तै शुक्रबार भने थप बढेर १ लाख ५७ हजार ९०० पुगेको हो ।





