काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन्।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले काँग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताएका हुन्। त्यसलाई अहिले चिरिएको उनले बताए। उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राख्नुभएको बताए।
उनले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनैपनि संघीय आयोजना नराख्ने मन्त्रीपरिषद्को निर्णय उल्ट्याएको बताए। वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको उनले बताए। उनले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताए। एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको बताए।





