काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा केके अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै जवाफ फर्काएका छन्।
देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए। पुनको प्रश्नको जवाफमा ओलीले सातमहिना अघि आफैँ प्रधानमन्त्री हुँदाको अवस्था हेर्न आग्रह गरे।
‘देशको अर्थतन्त्रका चिन्ता गर्नुभएकोमा यस अघिका अर्थमन्त्रीलाइै सातमहिना अघि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । त्यससमय अगाडि र त्यसयतको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु,’ ओलीले भने, ‘हाम्रो पुँजिगत खर्च कम छ । तर माननीयज्यू अर्थमन्त्री भएको तुलनामा भने अलि बढी नै छ।’ उनले अर्थतन्त्रमा सुस्ता एकै दिन नआएको भन्दै एकै दिनमा यसको समाधान नहुने बताए। आफू नेतृत्वको सरकार आएपछि अर्थतन्त्रको सुधारको लागि गम्भीर काम गरिरहेको र सुधारका नतिजा देखिन थालेको पनि दाबी गरे।





