झापा : नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संस्थापक बीपी कोइराला युगनायक भएको बताएका छन् ।
झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रूपमा स्थापित भएको उल्लेख गरे ।
‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपी कोइरालाले जहाँनियाँ राणाशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामान्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो,’ पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरू हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।’
प्रचण्ड १०औँ हजारको बलिदानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रूपमा इतिहासले स्वीकार गर्ने दाबी गरे । यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रस्टीकरण पनि पुनले दिए । आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैँ उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए ।





