नेपाल र म्यानमारबीचको खेल २–२ को बराबरी, अंक बाँडे

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

यो बराबरीसँगै म्यानमार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्नेछन्। खेलको छैटौं मिनेटमा म्याट नोई खिनको फ्रि किक गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। उनले सेकन्डबार च्यापेर प्रहार गरेको फ्रिकिकलाई नेपाल गोलकिपर अन्जना रानमगरले बचाउने कुनै अवसर नै पाइनन्।

म्यानमारको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन। पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको क्रसमा सविता रानमगरले वान टचमै पोस्टको दिशा दिइन्। मे एचटेट लुले १६औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन्। उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन्।

सावित्र भण्डारीले ४०औं मिनेटमा प्रिती राईको पासमा गोलरक्षकलाई वान वाई वानमा विट गर्दै नेपाललाई बराबरीमा ल्याइन्। पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा  गोल भने थपिएन। दुवै टिमले केही मौका बनाए पनि अंकमा परिणत भने गर्न सकेनन्। ७३ मिनेटमा रश्मीको हेडर गोलकिपर म्योले कलेक्ट गरिन्। थप गरिएको पहिलो मिनेटमा म्यानमारले मौका बनाउन खोज्दा खेलाडी अफ साइड रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार