काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाइरहे टाट पल्टिन कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै प्रतिवेदनमा फेल भएका प्रधानमन्त्रीले छाड्नु उपयुक्त हुने बताए।
त्यसबारे उनको भनाइ :
नेपाल ग्रे लिस्टमा परेको छ अर्थात् देश आर्थिक संकटमा फसिकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार प्रधानमन्त्री कार्यालयले २८.५ अंकसहित ११ वटा मन्त्रालय फेलको सूचीमा छ। प्रधानमन्त्रीको रुचिमा रहेका रेल, पानीजहाजदेखि ग्याससम्मका परियोजना संकटै संकटमा छ।
सुरु भएका परियोजना पनि सन्तोषजनक छैन। सबै ठाउँमा फेल भइरहेको व्यक्तित्वले नेतृत्व गरेको मुलुक कसरी उँभो लाग्न सक्छ ? सम्भव छैन। यदि मुलुकलाई पास गराउने हो भने फेल भएका प्रधानमन्त्रीले छाड्नुपर्छ अन्यथा मुलुकलाई टाट पल्टिनबाट कसैले रोक्न सक्दैन।





