काठमाडौं : चिसो मौसम, पर्याप्त आश्रय र तापको अभावका कारण गाजामा विगत दुई हप्तामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ। यो जानकारी प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले दिएका छन्।
उत्तरमा रहेको गाजा शहरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी अस्पतालका डाक्टरहरूले चिसोबाट बिरामी परेका नौ नवजात शिशुहरूलाई भर्ना गरिएको बताएका छन्, जसमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।
दक्षिणी शहर खान युनिस नजिकै रातभरि चिसोको कारणले गर्दा उनीहरूको दुई महिनाकी बालिकाको मृत्यु भएको एउटा परिवारले बताएको छ। पी.एफ.बी.एस. अस्पतालले पाल र अस्थायी आश्रयस्थलमा बसोबास गर्ने अनुमानित ९,४५,००० विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान (कार बोक्ने ठूला सवारी साधन) र इन्धनको तत्काल आपूर्तिको लागि आह्वान गरेको छ।
पाँच हप्ता अघि सुरु भएको युद्धविरामको क्रममा इजरायलले सहमति भएको मात्रामा पाल र अन्य आश्रय सामग्रीहरू नपुर्याएको आरोप हमासले लगाएको छ। यद्यपि, इजरायलले हमासको यो आरोपलाई अस्वीकार गरेको छ। इजरायल र हमास बीचको १६ महिना लामो युद्धको क्रममा गाजाको २१ लाख जनसंख्यामध्ये अधिकांश धेरै पटक विस्थापित भएका छन्। यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू ध्वस्त भएको अनुमान गरिएको छ।





