काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुराना अभ्यासहरू परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध भए पनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे। उनले अनुभव र आवश्यकताअनुसार सेवा प्रवाहलाई विकसित गर्दै लैजानुपर्नेमा जोड दिए। ‘स्वास्थ्य सेवा उपलब्ध भएकै छैन भन्ने होइन, तर अझ व्यवस्थित, प्रभावकारी र पूर्ण हुन सकेको छैन। अहिलेको चुनौती भनेको स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउनु हो,’ उनले भने।
स्वास्थ्यमन्त्री पौडेलले अहिले कायम स्वास्थ्य सेवा अभ्यासहरू परिवर्तन गर्नुपर्ने बताए। ‘जे अभ्यास गर्दै आएका छौँ, तीमध्ये केही सुधार्नुपर्छ, केही नयाँ विधिहरू अपनाउनुपर्छ, अनि केही हाम्रा अनुभवबाट विकसित गर्नुपर्छ। त्यसैले समग्र सन्दर्भलाई पहिचान गर्दै व्यवस्थित स्वास्थ्य नीति अगाडि बढाउनुपर्छ,’ उनले स्पष्ट पारे।
मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरूले मानसिक दबाबमा परेर सेवा दिन नसक्ने भन्दै उनीहरूलाई सहज वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘स्वास्थ्य सेवा विशेष क्षमतायुक्त व्यक्तिले मात्र प्रदान गर्न सक्छन्। डाक्टर र नर्सहरूले अत्यधिक दबाबमा काम गर्न सक्दैनन्। कसैले ब्लड निकाल्दा पनि डर मान्न सक्छ, तर स्वास्थ्यकर्मीले जटिल अपरेसन गर्छन्, मुटु र मस्तिष्कको शल्यक्रिया गर्छन्। त्यसैले यस्तो सेवा दबाबमा गर्न सकिँदैन, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण आवश्यक छ,’ उनले भने।
स्वास्थ्यकर्मीहरू मानसिक रूपमा असुरक्षित महसुस गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। ‘कसैले आवेगमा आएर केही गरोस् वा आक्रमण गरोस्, स्वास्थ्यकर्मीहरू सधैँ त्रासमा रहनुहुन्न। यस्तो स्थिति अन्त्य गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री पौडेलले थपे। सीमित पूर्वाधार, जनशक्ति र उपकरणका कारण स्वास्थ्य सेवा विस्तारमा चुनौती रहेको स्वीकार्दै उनले स्वास्थ्य प्रणाली सुधारका लागि एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको जानकारी दिए।
‘स्वास्थ्य सेवा प्रभावकारी बनाउन कानुनी संरचना आवश्यक छ। त्यसका लागि हामी नीतिगत सुधार गर्दैछौँ,’ मन्त्री पौडेलले भने।





