काठमाडौं : रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षमा जेल चलान भएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको सचिव पदमा बढुवाका लागि बरिष्ठताका आधारमा ३ सहसचिवको नाम सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा सहसचिव बिरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको हो ।
पहिलो नम्बरमा सिफारिस भएका यादव राष्ट्रिय योजना आयोगमा अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने दोस्रो नम्बरमा सिफारिस भएका भुजेल मधेस प्रदेश सरकारको कामु प्रमुख सचिव छन् । तेस्रो नम्बरमा सिफारिस भएका पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।





