काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पनि कर लगाउने घोषणा गरेका छन् । यसका साथै उनले पाकिस्तानको प्रशंशा गरेपछि भारतको राजनीतिक वृत्तमा नयाँ तरंग आएको छ । अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले भारत सहित सबै देशहरूलाई लक्षित गर्दै अप्रिल २ देखि रेसिप्रोकल अर्थात पारस्परिक कर लगाउने घोषणा गरेका छन् ।
उनले भने, ‘चीन, भारत, ब्राजिल, मेक्सिको र क्यानडा लगायत धेरै देशहरूले हामीभन्दा धेरै उच्च कर लगाउँछन्।’ भारतलाई उल्लेख गर्दै ट्रम्पले भने , ‘भारतले अटो उत्पादनहरूमा १०० प्रतिशतभन्दा बढी कर लगाउँछ।’ उनले भने, “यी उत्पादनहरूमा चीनले हाम्रो तुलनामा दोब्बर भन्सार लगाउँछ। जबकि दक्षिण कोरियाको भन्सार चार गुणा बढी छ। यद्यपि, हामी दक्षिण कोरियालाई सैन्य र अन्य वस्तुहरूमा धेरै सहयोग गर्छौं।”
उनले भने, “यो साथी र विरोधी दुवैले गरिरहेका छन्। यो संयुक्त राज्य अमेरिकाको लागि उचित छैन। त्यसकारण हामी अप्रिल २ देखि रेसिप्रोकल ट्यारिफ लगाउनेछौं। र ती देशहरूले जस्तो शुल्क लगाउँछन् हामी पनि त्यही शुल्क लगाउनेछौं।” ट्रम्पले भने, “हामी यो अप्रिल १ मा गर्न चाहन्थ्यौं तर हामी त्यो दिन यो लागू गरेर अप्रिल फूलको दोष लिन सक्दैनौं, त्यसैले हामीले अप्रिल २ को मिति रोजेका छौं।”
अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई धन्यवाद पनि दिएका छन् । “साढे तीन वर्षअघि, आतंककारीहरूले १३ अमेरिकी सैनिक र अनगिन्ती अरूको हत्या गरेका थिए,” उनले भने। उनले भने, “हामीले हालै यस घटनाको मास्टरमाइन्डलाई पक्राउ गरेका छौं र उसलाई हाल अमेरिका ल्याइँदैछ जहाँ उसले अमेरिकी कानूनको सामना गर्नुपर्नेछ।” “उसलाई समात्न मद्दत गरेकोमा विशेष गरी पाकिस्तान सरकारलाई धेरै धेरै धन्यवाद” ट्रम्पले भने ।
सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता हुनेको क्रममा भएको आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिक र १७० सर्वसाधारणको मृत्यु भएको थियो। यसलाई अबी गेट बम विस्फोट भनेर चिनिन्छ। ट्रम्पले भने ‘यी मृत्युहरूको लागि जिम्मेवार व्यक्तिलाई पाकिस्तानले पक्राउ गरेको छ र अब अमेरिका ल्याइँदैछ।’





