काठमाडौँ : सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ।
यसअघि मन्त्रालयबाट सोधिएकामा अहिले मन्त्रिपरिषद्को बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय भएको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले हाम्रोदेशलाई बताए।
यसअघि ऊर्जा मन्त्रालयले कुलमानसँग पाँचपटक विवरण माग गर्ने र स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको हो। कुलमानलाई हटाउने प्रयासमा रहेका ऊर्जामन्त्री दीपक खड्काले विभिन्न समिति र आयोग बनाएर पनि उनीमाथि छानबिन गर्न खोजेका थिए। ती कुनै पनि छानबिन र स्पष्टीकरणका आधारमा कुलमानलाई हटाउन नसकेपछि मन्त्रालयले मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने प्रस्ताव अघि बढाएको थियो।
कुलमानलाई पदबाट हटाउनकै लागि कार्यसम्पादन मूल्यांकनमा मन्त्रालयले शून्य अंक दिएको छ।





