आम विद्यार्थीहरू माओवादीको पक्षमा छन् : प्रचण्ड

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम विद्यार्थी माओवादीको पक्षमा रहेको दाबी गरेका छन्।

आज माओवादी केन्द्र, जिल्ला समन्वय समिति, बाराद्वारा आयोजित तराई-मधेस जागरण सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। ‘विद्यार्थीहरू अग्रगमनको पक्षमा छन्, माओवादीको पक्षमा छन्,’ उनले भने, ‘अब उनीहरू प्रतिगमन वा यथास्थितिको पक्षमा छैनन्।’

उनले स्ववियु निर्वाचनको नतिजाले विद्यार्थीहरूको चेतना कतातिर गइरहेको छ भन्ने स्पष्ट सङ्केत गरेको जिकिर गरे। यसपटकको स्ववियु निर्वाचनले इतिहास रचेको पनि बताए। ‘अब माओवादी कसैको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य निर्माण गरेका थिए एमाले-कांग्रेसहरूले। तर, गत उपचुनाव र स्ववियुको निर्वाचनसम्म आउँदा त्यो भाष्यलाई हामीले चिरेका छौँ। अब माओवादीले आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो बनाउन सक्छ,’ उनले भने।

गत स्थानीय उपचुनाव र स्ववियु निर्वाचनमा एमाले-कांग्रेस मिलेर लड्दासमेत माओवादीसमर्थित अखिल क्रान्तिकारीले जित निकालेको भन्दै उनले अब माओवादीलाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार