एथेन्स : टर्की तटबाट ग्रीकको टापुमा आप्रवासीहरू बोकेर गइरहेको डुङ्गा पल्टिएको छ । ग्रीक तट रक्षकले दुर्घटनामा चार जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका छन् । यसबाहेक अरू २३ जनाको उद्धार गरिएको छ । तट रक्षकका अनुसार लेस्बोस टापुको उत्तरी तटमा खोजी र उद्धार कार्य जारी छ । जानकारीअनुसार यस क्षेत्रमा मौसम सफा थियो ।
यस्तोमा डुङ्गा पल्टनुको कारण स्पष्ट रूपमा थाहा हुन सकेको छैन । डुङ्गामा कति जना थिए, उनीहरू कुन कुन देशका थिए, डुङ्गा कस्तो खालको थियो ? भन्ने जस्ता जानकारी तत्काल प्राप्त हुन सकेको छैन ।
ग्रीक तट रक्षक बलका अनुसार समुद्र र जमिनमा खोजी र उद्धार कार्य भइरहेको छ । उद्धार कार्यमा तीन तट रक्षक जहाज, वायुसेना हेलिकप्टर र एउटा डुङ्गा संलग्न छन् । यिनीहरूले दुर्घटनामा परेकाहरूको निरन्तर खोजी गरिरहेका छन् । यद्यपि, कति जना बेपत्ता छन् भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट खबर आएको छैन ।





