लुम्बिनी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र देश विकास र समृद्धिको अभियानमा लागिपरेको उल्लेख गर्दै यस अभियानमा साथ दिन नागरिक समाज, बुद्धिजीवी तथा उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।
अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्नेदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयको योजना निर्माण र अर्थतन्त्रको नीतिगत सुधारका लागि काम अगाडि बढाएको बताए । माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकी मार्ग जागरण अभियान’का क्रममा आज भैरहवामा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री दाहालले माओवादी केन्द्रले विगतको कमीकमजोरीलाई सच्याएर जनतासँग आएको स्पष्ट पारे ।
अन्तरक्रियाका वक्ताहरूले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र परेको भन्दै विकासमा राजनीति नगर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराएका थिए । उहाँहरूले रूपन्देहीमा बनेका सुक्खा बन्दरगाहा, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, मोतिपुर औद्योगिक क्षेत्र र सेज सञ्चालनबारे ध्यानाकर्षण गराएका थिए । चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेलले भौतिक र आर्थिक विकासमा दलीय सहमति आवश्यक रहेको औँल्याए ।
उद्योग वाणिज्य सङ्घ बुटवलका पूर्वअध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा अनावश्यक राजनीति भएको भन्दै चिन्ता व्यक्त गरे ।





