काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा सदस्यले फेसबुकमा लेख्दा पार्टीमा अनावश्यक समस्या आउने बताएका छन् ।
पार्टीको भरतपुर महानगर समितिको शुक्रबार दोस्रो अधिवेशन उद्घाटन गर्दै ओलीले फेसबुकमा जे पायो त्यही लेख्दा समस्या हुने बताएका हुन् ।उनले एकता, एकीकरण गर्दै पार्टीलाई लगभग दुई तिहाईको अवस्थामा पुर्याएको बताए । ‘तर मतिभ्रष्टहरूले पटक-पटक पार्टी फुटाए, अहिले उनीहरू पुपुर्रोमा हात राखेर बसेका छन्,’ ओलीले भने ।
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि चितवनमा उनीविरुद्ध भएको पुत्ला जुलुसप्रति लक्षित गर्दै ओलीले भने, ‘केपी ओली मर्यो भनेर लाश बोकेर चितवनमा हिँडेको देखेको थिए । परालसराल के-के राखेर केपी ओली बोक्याछौं भने । केपी ओली बोक्याछौ या छैनौ आगामी दिनमा देख्दै जाने छौं । कहाँ को पुग्दो रहेछ हेर्दै जाऊ । हामीले लानै पर्दैन आफैं जाने छन् ।’
उनले सहकारीको रकम खानेले नै चर्को बोल्ने गरेको बताए । ‘भित्रभित्र सहकारीको करोडौं चट बनाइदियो । बाहिर-बाहिर ठूलो कुरा गर्ने जस्तो तमासा हामीलाई गर्नु छैन । करोडौं खाएर पनि फेरि म निर्दोष छु भनेर कराउने कत्रो आवाज हो । खाने बेलामा आँखा नदेख्ने अनि, भन्ने म निर्दोष छु फसाइयो,’ प्रधानमन्त्री ओलीले भने ।





