काठमाडौं : काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन्।
कैलाली धनगढी उपमहानगरपालिका १ घर भई काठमाडौं ३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो। शनिबार दिउँसो १ बजेतिर काठमाडौं महानगरपालिका-१० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्ट्रिय आन्दोलनमा सहभागी एक शिक्षकमाथ कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्।
अन्दाजी १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको एसपी बोहराले बताए। उनलाई प्रहरीले उद्धार गरी सिभिल अस्पतालमा पुर्याएको छ।





