काठमाडौँ : यही अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतभर आतंककारीविरुद्ध आक्रोश छ। उक्त घटनाको दोष भारत सरकारले पाकिस्तानलाई लगाइरहेको छ। यसैबीच भारतीय राज्य कर्नाटकका एक मन्त्रीको अभिव्यक्ति यतिबेला चर्चामा छ।
कर्नाटकका अल्पसंख्यक मामिला मन्त्री बीजेड जमिर खान भिडिओमा बोलिरहेका छन्। जसमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले अनुमति दिए भने आत्मघाती बम बोकेर आफैँ पाकिस्तानसँग लड्न जाने बताइरहेका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा मन्त्री खानले पाकिस्तान सधैँ भारतको शत्रु रहेको बताए। यस क्रममा उनले प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहसँग आफूलाई आत्मघाती बम उपलब्ध गराउन अनुरोध गरे।
उनले भने, ‘म युद्धका लागि पाकिस्तान जान्छु, प्रधानमन्त्री मोदी र अमित शाह मलाई आत्मघाती बम दिनुहोस्, म त्यसलाई शरीरमा बाँधेर पाकिस्तान जान्छु र उनीहरूमाथि आक्रमण गर्छु।’





