काठमाडौं : लमजुङमा कांग्रेसनिकट युवा संगठन तरुण दलको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान भएको छ । सदरमुकाम बेंसीसहरमा शनिबार आयोजित पाँचौं जिल्ला अधिवेशन उद्घाटन सत्रको क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको हो ।
घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।बेंसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ, पार्टी जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेविसंघ केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलकै शंकर सापकोटा र धन घले घाइते भएका हुन् ।
घाइते गुरुङलाई काठमाडौं र अधिकारीलाई भरतपुर रेफर गरिएको छ । टाउकोमा चोट लागेको र सीटीस्क्यान गर्नुपर्ने भएपछि उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको हो । बाँकी ३ जना प्रादेशिक अस्पताल लमजुङमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरी निरीक्षक तेलीले बताए ।





