काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनु्वाइ जारी छ।
न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी छ। मंगलबार हेर्दाहेर्दैमा रहेको उक्त रिटमाथि बुधबार सुनुवाइ भएन। उक्त रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि सुनुवाइ भइरहेको हो। दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ।
लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो।
उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि लामिछानेले कारागारबाटै उच्चको आदेश खारेजको माग गर्दै बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराएका थिए।





