काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने भएको छ।
बिहीबार बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट जनयात्रा सुरू गर्ने निर्णय गरिएको प्रवक्ता निशा डाँगीले जानकारी दिइन्। उनका अनुसार आज बसेको बैठकले जनयात्राको सन्दर्भमा तीनवटा निष्कर्ष निकालेको छ। पहिलो, जनयात्रा जेठ २३ गतेबाट सुरू गर्ने, दोस्रो जनयात्रा झापाबाटै सुरू गर्ने र तेस्रो जनयात्रालाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरिएको उनले बताइन्।
‘जनयात्रामा पार्टीका कार्यवाहक सभापति, उपसभापति, महासचिव, सम्बन्धित जिल्लाका सांसदहरू, सम्बन्धित प्रदेश इन्चार्ज सभापति र जिल्ला सभापति लगायत स्थानीय समितिका पदाधिकारी पनि रहनुहुनेछ। झापाबाट अभियान सुरू गरेपछि त्यसक्रममा केन्द्रीय संयोजन समितिकै तर्फबाट केही पालिकामा अभियान लैजानेछौं।
केन्द्रीय टोली पुग्न नसकेका पालिकामा स्थानीय समितिहरूले नै अभियानलाई निरन्तरता दिँदै गाउँ–टोलसम्म लैजान सक्नुहुनेछ, त्यही अनुसार योजना बनाइएको छ,’ उनले भनिन्।





