काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालय र मातहतका कर्मचारीको आइतबार बसेको बैठकमा उनले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन्। ‘मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन्। कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्,’ मन्त्री खड्काले भने।
ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो।
बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो।





