प्रदर्शनमा ६ हजार सुरक्षाकर्मी खटिए

२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौँ : नेकपा एमाले गणतन्त्रको उत्सव मनाउने र राजवादीहरूले राजा फर्काउने अभियानको कार्यक्रम आज एकै साथ गर्दा काठमाडौंमा ६ हजार सुरक्षाकर्मी खटिएका छन् ।

सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छनौट गरेर गणतन्त्र स्थापनाको उत्सव मनाउने र राजावादीहरूले गणतन्त्र स्थापनाको दिनलाई पारेर शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि दुवै पक्षलाई भेट हुन नदिने गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।‘ काठमाडौंमा अप्रिय घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने।

उता नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी घोषित अघोषित गरी ६ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । ‘पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले भने । उनका अनुसार काठमाडौं उपत्यकामा सबै स्थानमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यता सशस्त्र प्रहरीले पनि अघिल्लो पटक भन्दा यसपटक अलि सजग भएर परिचालन गरेको जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी अन्य सुरक्षा अंगसँग समन्वय गरेर परिचालित भएको छ’, सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने ।

आज नेकपा एमाले झाँकी सहितको सांस्कृति प्रदर्शनक गर्ने जनाएको छ। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रदर्शन हुन लागेको हो । राजावादीहरूले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रीत गर्ने भएका छन् । उनीहरुलाई २ बजेपछि प्रदर्शन गर्ने अनुमति दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार