नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ७ बुँदे सहमति अनुसार कांग्रेस र एमाले तत्काल संविधान संशोधनमा जानुपर्ने बताएका छन्। नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर-२ को तेस्रो क्षेत्रीय सम्मेलनलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री थापाले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीलाई परिवर्तन गरिनुपर्ने धारणा राखे। व्यवस्था परिवर्तन गर्नुभन्दा पनि यही व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने महामन्त्री थापाको भनाई छ।
‘केही साथीहरू सडकमा आउनु भएको छ, उहाँहरुलाई सम्झाएर अब घर फर्काउनु पर्छ, नेपालका राजा कस्तो भनेर कसैले कांग्रेसलाई पढाउनु पर्दैन, जनताबाट निर्वाचित विपी कोइरालालाई त्यही राजाले ८ वर्ष कालकोठरीमा राखेको इतिहास साक्षी छ,’ महामन्त्री थापाले भने।
लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाभित्र नागरिकको अवस्था बदल्न सकिनेमा उनले जोड दिए। ‘केन्द्रमा २५ जना मन्त्री चाहिँदैन, केन्द्रमा १० जना मन्त्री भए पुग्छ, प्रदेशमा पनि मन्त्रीको संख्या घटाउन सकिन्छ,’ उनले भने ‘सरकारी खर्च घटाउने उपाय खोज्ने हो।’
उनले दलहरू बीचमा गठबन्धन गराउने निर्वाचन प्रणालीलाई पनि संशोधन गर्नुपर्ने बताए। ‘गठबन्धन गराउने निर्वाचन प्रणालीले मुलुकलाई ध्वस्त बनाउँछ,’ उनले थपे।
कांग्रेस जिम्मेवार राष्ट्रिय शक्ति भएको थापाले बताए। ‘स्वर्गीय गिरिजा प्रसाद कोइरालाले आफ्नो पार्टीले चुनाव हार्दै गर्दा माओवादीलाई मूल राजनीतिमा ल्याउनु भयो, सुशील कोइरालाले माओवादी समेतका दललाई मिलाएर संविधान जारी गर्नुभयो,’ उनले भने ‘कांग्रेस आफूले हारेर पनि, गाली खाएर भएपनि सबै दललाई समेट्दै आएको छ।’





