काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको सचिवालय बैठकले कोशी प्रदेशका दुई नेताको सदस्यता खारेजी गर्ने निर्णय गर्यो। कोशीका निलम्बित प्रदेश सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको सदस्यता सचिवालय बैठकले खारेजी गरेको हो। यद्यपि रास्वपाको विधानमा सदस्यता खारेजी केन्द्रीय समितिले मात्रै गर्न पाउनेछ।
सोही अनुरूप सचिवालयको यस निर्णयलाई केन्द्रीय समितिमा अनुमोदनका लागि लैजाने निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। प्रदेश सभापतिलाई केही समयअघि पार्टी अनुशासन आयोगले नै निलम्बन गरेको थियो। उनले यसअघि कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको जिम्मेवारीमा फर्काउन पर्ने बताएका थिए।
यसपटक साधारण सदस्यताबाटै बर्खास्त गर्नुको कारण अर्कै छ। उनीहरूले गत वैशाख १७ गतेबाटै स्वतन्त्र राष्ट्रवादी विचार समूह भन्दै अलग अभियान थालेका थिए। एकातिर राष्ट्रिय झन्डा र अर्कोतिर रास्वपाको चुनाव चिह्न घन्टी राखेर हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको अभियान चलाएका थिए।
गत वैशाख ४ गते बसेको रास्वपाको बैठकले २०८२ फागुन ७ गतेदेखि चितवनमा पहिलो महाधिवेशन गर्ने घोषणा गरेकाले पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरित भइसकेको तर्क गरेका थिए।
यसर्थ, पार्टीका सम्पूर्ण सदस्यहरू समान हैसियतमा रहेको र प्रत्येक सदस्यलाई आफ्नो विचार व्यक्त गर्दै पार्टीको नेतृत्व तहमा बसेर काम गर्ने अधिकार सुरक्षित रहेकाले अभियान घोषणा गरेको उनीहरूको तर्क थियो।





