काठमाडौं : काठमाडौँको कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना भएको छ।
सोमबार दिउँसो काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो। दुर्घटनामा अरु ७ जना घाइते भएका छन्। घाइते हुनेमा चालक ६० वर्षीय हर्कबहादुर खत्री, शिक्षक सुरज पोखरेल, विद्यार्थीहरू निकिशा डंगोल, ट्रिनिक्षा घर्तीमगर, सिम्रन खड्का, नौसिया थापा र ८ वर्षीया रेश्मा मोक्तान छन् ।





